
काठमाडौं । नयाँ वर्ष मनाउन गएका रूपन्देहीका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको पाल्पास्थित भुतखोलामा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी दोभानका अनुसार जैसवाल घुमघामको लागि शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए ।
साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए ।
उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । सिद्धार्थ राजमार्गको छेवैमा रहेको भुतखोलामा नुहाउने क्रममा हरेक वर्षजस्तो मानिसको मृत्यु हुने गर्छ ।