
काठमाडाैं । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता राहुल गान्धीले एउटा अदालतले उनलाई सुनाएको दुई वर्ष जेल सजायविरूद्ध दिएको पुनरावेदन खारेज भएको छ ।
गुजरातको सुरत अदालतले बिहीबार उनले दिएको पुनरावेदन खारेज हुने निर्णय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो ।
गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए ।
एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए । सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको थियो भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको थियो ।
उच्च अदालतले उनको पुनरावेदन खारेज गरिदिएपछि गान्धीलाई धक्का लागेको छ । अदालतले दुई वर्षको जेल सजाय सुनाएपछि लोकसभा सचिवालयले उनको सांसद पद निलम्बन गरेको छ ।