दाङमा सर्पले टोकेका बिरामीलाई अस्पताल नलगी झारफुक गराउँदा मृत्यु

काठमाडौं । दाङमा सर्पले टोकेका बिरामीलाई अस्पताल नलगी झारफुक गराउँदा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं- १६ शान्तिटोलका २६ वर्षीय रोशन डाँगीलाई सोमबार राति १० बजेतिर सुतिरहेको समयमा विषालु सर्पले दाहिने खुट्टामा टोकेको थियो ।

सर्पले टोकेका डाँगीलाई अस्पताल लैजानुको साटो तुलसीपुर–१४ पहरुवा र खोल्सापुर दाङमा रातभर झारफुक गराउँदा गराउँदै उनी अचेत भएका थिए ।

बिहान ३ बजेदेखि बेहोस रहेका डाँगीलाई बिहान ७ बजेमात्रै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले डाँगीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

गर्मी दिन बढेसँगै दाङलगायत तराईका जिल्लाहरूमा सर्पदंशका घटना बढ्ने हुँदा सबैलाई सजग रहन र अन्धविश्वास तथा भ्रममा नपरी जति हुन्छ छिटो अस्पताल लैजान चिकित्सकले पनि आग्रह गर्दै आएका छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१