फिल्म ‘जवान’ को लिक क्लिप हटाउन अदालतले दियो आदेश

काठमाडौं । दिल्ली उच्च अदालतले शाहरूख खानको फिल्म ‘जवान’ को भिडिओ लिक प्रकरणमा फैसला गरेको छ ।

अदालतले सबै सामाजिक सञ्जाल प्लेटफर्मबाट ‘जवान’ को लिक क्लिप हटाउन आदेश दिएको हो । मंगलबार अदालतले वेबसाइट, केबल टिभी प्लेटफर्म, घर सेवा र अन्य प्लेटफर्मलाई जवानको प्रतिलिपि अधिकार उल्लंघन गर्नबाट रोक लगाएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख छ ।

यो फिल्म २ जुनमा प्रदर्शन गर्न तयारी छ । फिल्मको ट्रेलर सार्वजनिक हुनुअघि नै सामाजिक सञ्जालमा ‘जवान’ का दुई भिडिओ लिक भएका छन् ।

छायांकन स्थलबाट भिडिओ लिक भएपछि शाहरूख र गौरी खानको प्रोडक्सन कम्पनी रेड चिलिजले दिल्ली उच्च अदालतमा उजुरी दिएका थिए ।

अदालतले युट्युब, गुगल, ट्विटर र रेडिटजस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूलाई जवान फिल्मको प्रतिलिपि अधिकार सामग्री देखाउनेहरूविरुद्ध कडा कारबाही गर्न निर्देशन दिएको छ ।

जस्टिस सी हरि शंकरले इन्टरनेट सेवा प्रदायकहरूलाई फिल्मसँग सम्बन्धित सामग्री देखाउने च्यानलहरूलाई ब्लक गर्ने आदेश दिएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१