
काठमाडौं । भारी वर्षाका कारण खेल रद्द हुँदा एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेल रद्द हुँदा नेपाल समूह ए को विजेताको रूपमा फाइनल पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल पहिलो इनिङमा २३.३ ओभर खेल भइरहँदा पानी परेपछि करिब २ घण्टा खेल अवरुद्ध भएको थियो । त्यसपछि पानी रोकिएर सुरु भएको खेलमा नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दियो ।
दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको कुवेतले ८.३ ओभर खेलिरहँदा पानी दर्किएपछि बाँकी खेल हुन सकेन । डिएल मेथडमा खेलको नतिजा लिन कुवेतले २० ओभर खेलेको हुनु पर्ने थियो । र, २० ओभरमा कुवेतले नेपाललाई जित्न १ सय ९४ रन बनाउनु पर्ने थियो । बाँकी खेल हुन नसक्दा खेल नतिजाविहीन बन्यो र त्यसको फाइदा नेपाललाई भयो ।
अर्काे सेमिफाइनल खेलमा युएईले भने डिएल प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्यो ।
युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।
अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।