पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकविरूद्ध पनि पक्राउ पुर्जी

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

यसअघि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध पनि आजै पक्राउ पुर्जी जारी भएको छ।

यस्तै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो।

उनी आफैं परिसरमा उपस्थित भएपछि प्रहरीले पक्राउ गरेको हो। पाण्डे २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए।

मंगलबार मात्रै प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनी पक्राउ परेका हुन्।

यस घटनामा उनका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी पक्राउ परिसकेका छैनन्।

प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१