
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुन लागिरहेको फिल्म ‘हल्कारा’को प्रिमियर बुधबार बेलुका काठमाडौंको वान सिनेमाज मल्टिप्लेक्समा गरिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय अवार्डमा पुरस्कार जितेको सोसल ड्रामा फिल्मलाई हेर्न कास्ट एण्ड क्रिउसहित सेलिब्रिटी उपस्थित रहे ।
निर्देशक विक्रम सापकोटाकाे लेखन तथा निर्देशन रहेको फिल्मलाई रामकृष्ण पोखरेलले निर्माण गरेका हुन ।
यसैगरी अभिनेता महेश त्रिपाठी, अभिनेत्री विनिता थापामगर प्रिमियरमा आकर्षण बने । फिल्म हेर्न सांसदहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदीप ज्ञवाली पनि पुगेका थिए । उनीहरुले फिल्म मन परेको बताए ।
अभिनेता राजन खतिवडाले ‘पर्फेक्ट’ नेपाली फिल्म बनेको भन्दै प्रशंसा गरे । अभिनेता मुकुन भुसालले हेरुञ्जेल फिल्मसँग आफू जोडिएको बताए ।
फिल्मले एक हुलाकीको कथा भन्छ । हुलाकीको भूमिकामा महेश त्रिपाठीले अभिनय गरेका छन् ।
गाउँको एक बेरोजगार जड्याँहा व्यक्तिलाई हुलाकीको जागिर मिल्छ । त्यसपछि ऊ चिठी बाँड्न अर्को गाउँको यात्रामा निस्कन्छ ।
उसले यस क्रममा नयाँ कामको जिम्मेवारी र चुनौतीको सामना गर्नुपर्छ । यसक्रममा व्यक्तिगत कठिनाइ पनि खेप्नुपर्छ ।