
उदयपुर । उदयपुर प्रहरीले सामाजिक सञ्जालमा चिठ्ठा परेको भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै विभिन्न प्रलोभन देखाई सामाजिक संजालमा ठगि गरेको आरोपमा कटारी ३ का उज्जवल थापा मगर, चितवन रत्ननगर २ का सुशिल श्रेष्ठ र कटारी नगरपालिका ३ का बिशाल थापा मगरलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुको समूहले त्रियुगानगरपालिका ३ का उदय राईलाई सामाजिक संजाल ह्वाटसएपमा २५ लाखको चिठ्ठा पर्याे भन्दै रकम प्राप्त गर्न कर तिर्नको लागि भनेर २२ लाख २० हजार ठगि गरेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।
ठगी गर्ने समूहले विभिन्न व्यक्तिको बारेमा अध्ययन गर्ने, सामाजिक संजालमा विभिन्न प्रलोभन सहितको लिंक पठाउने, चिठ्ठा परेको भनेर कल गर्ने र चिठ्ठा वापतको रकम प्राप्त गर्ने कर वापतको पैसा ई सेवा, आइएमी पे, कनेक्ट आईपिएस लगाएतबाट पैसा पठाउन लगाएर ठगि गर्ने गरेको उदयपुरका प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयालले बताए ।
प्रहरीका अनुसार ठगि गर्ने समूहले विभिन्न जिल्लाबाट पैसा प्राप्त गरेको रेकर्ड फेला परेकाले ठगिमा पर्नेको संख्या धेरै हुन सक्ने जनाएको छ ।
पक्राउ परेका तिनजनालाई नै जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिकलाभ सम्बन्धि कसुरमा ६ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको बताएको छ ।