• २०८३ साउन १०
  • 2026 July 26, Sunday

बालकृष्ण खाँणको मोबाइलमा भेटिएन शरणार्थीसँग सम्बन्धित विवरण

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ । त्यसक्रममा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएकाे छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका खाँणको मोबाइलबाट रिकभर हुनसक्ने विवरणमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै माथिल्लो तहको नेक्सससम्म प्रहरी पुग्नसक्ने अनुमान गरिएको थियो ।

प्रहरीले २७ वैशाखमा खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउलगत्तै खाँणको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो ।

तर, त्यसबाट प्राप्त रिपोर्टमा शरणार्थीसँग सम्बन्धित विवरणहरु छैनन् ।

खाँणले प्रहरी पुग्नुअघि मोबाइल डाटा ‘फ्याक्ट्री रिसेट’ गरेको प्रहरी आशंका थियो । त्यसैले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा लिइएको बयानमा पनि उनलाई मोबाइल किन रिसेट गरेको भनेर सोधिएको थियो ।

तर, उनले आफू त्यत्ति प्रविधिसँग जानकार नभएको भन्दै आफूलाई थाहा नभएको बताएका थिए ।