
काठमाडौं । दक्षिण भारतीय अभिनेता अजित कुमारले सुगत सतपथीसँग हालै बाइकमा नेपाल र भुटान भ्रमण गरेका थिए ।
नोभेम्बरदेखि बाइक यात्रा सुरू गरेका अजितले मे ६ मा आफ्नो यात्रा अन्त्य गरेका हुन् ।
आफ्नो यात्रा सकिएपछि अजितले सुगतलाई १२ लाख भारू मूल्यको बिएमडब्लु सुपरबाइक उपहार दिएका छन् ।
सुगतले इन्स्टाग्राममार्फत अजितका लागि दुई पटक बाइक यात्रा आयोजना गरेको बताएका छन् ।
‘मेरो लागि २०२२ को अन्त्य एकदमै राम्रो रह्यो। तमिल फिल्म उद्योगका सबैभन्दा ठूला सुपरस्टार मध्येका एक अजित कुमारको सम्पर्कमा आउन पाउँदा म आफूलाई सौभाग्यमानी ठान्छु । बाइक चलाउन शौखिन अजितका लागि मैले उत्तर/पूर्व भ्रमणको आयोजना गरेँ । म उहाँसँग ड्यूक ३९० मा सवार थिएँ । उहाँसँगको यात्रा अविस्मरणीय रह्यो । हामीले धैरे सुन्दर सूर्यास्त र सूर्योदयहरू देख्यौं,’ उनले लेखेका छन्, ‘मैले अहिलेसम्म सबैभन्दा राम्रा मान्छेसँग भेटेँ । उहाँ एक चर्चित अभिनेता भए पनि उहाँको नम्रता देखेर छक्क परेँ । सुपरस्टारको पछाडि एक साधारण जीवनलाई ठूलो तरिकामा बाँच्न इच्छुक !! ठूलो भन्नुको मेरो मतलब विलासिता होइन तर मानसिक शान्ति हो । तपाईले दिनुभएको यो उपहार मेरो लागि बाइक मात्र नभई धेरै महत्वपूर्ण छ।’
अजित कुमारको पछिल्लो समय फिल्म ‘थुनिभु’ प्रदर्शन भएको थियो । उनी अभिनेताका साथै कार रेसर पनि हुन्।