
काठमाडौं । असार १५ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म ‘परस्त्री’ को हिन्दी गीत सार्वजनिक भएको छ ।
आइतबार बिफोरयु म्युजिक युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘होना था जो होने लगा’ बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो । अमित मिश्र र सोनल प्रधानको स्वर रहेको गीतमा अभिनेत्री शिल्पा मास्के र गौरव विष्टलाई देख्न सकिन्छ ।
विनित त्रिपाठीको शब्द रहेको गीतमा केके ब्रोदर्सले संगीत भरेका छन् । गीतलाई वाइल्ड रिपर्जले कोरियोग्राफी गरेका हुन् ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो । निरज कँडेलले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
फिल्ममा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।
डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल फिल्मका लेखकसमेत हुन् ।