वायु प्रदुषण रोकथाम गर्न बजेट अपूराे भन्दै क्लिन एयर नेटवर्क नेपाललगायतका संघ–संस्थाले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रति वातावरणीय न्याय साथै स्वच्छ हावा अधिकारको लागि सन् २००४ देखि कार्यरत क्लिन एयर नेटवर्क नेपाल एवं अन्य नागरिक समाजका संघ–संस्थाहरुले ध्यानाकर्षण गराएका छन् ।
सरकारले प्रस्तुत गरेका बजेट समग्र रुपमा ‘वातावरणको सवाललाई प्राथमिकताको रुपमा चर्चा गरिए पनि स्वच्छ हावा प्रवर्द्दन तथा वायू प्रदुषण रोकथाम र न्यूनीकरणका लागि वजेट वक्तव्य अपुरो रहेको’ भन्दै उनीहरुले विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

स्वच्छ उर्जा नेपाल, वातावरण र जनस्वास्थ्य संस्था, राष्ट्रिय जनवकालत मञ्च नेपाल, युवा वकालत मञ्च नेपाल, जलवायुका लागि नेपाली युवा, चाँगुनारायण नगरस्तरीय स्वच्छ हावा सञ्जाल, नगरस्तरीय स्वच्छ वातावरण नागरिक समाज ललितपुर, चन्द्रागिरी नगरस्तरीय स्वच्छ वातावरण प्रवर्द्दन नागरिक सञ्जाल, काठमाडौँ वायु गुणस्तर व्यवस्थापन नागरिक समाज सञ्जालले आफ्नो धारणासहित सरकारको ध्यानाकर्षण गराएको हो ।

बजेट बक्तब्यमा विभिन्न नागरिक समाजका संघ–संस्थाको धारणा निम्नानुसार छन् :

१.सरकारले प्रस्तुत गरेका बजेट समग्र रुपमा ‘वातावरणको सवाललाई प्राथमिकताको रुपमा चर्चा गरिए पनि स्वच्छ हावा प्रवर्धन तथा वायू प्रदुषण रोकथाम र न्यूनीकरणका लागी वजेट वक्तव्य अपुरो रहेको’ हामीले पाएका छौँ ।

२. वायु प्रदूषणको श्रोत मध्ये वन डढेलो एक हो । सरकारले वन डडेलोको जोखिम न्यूनीकरण लागि प्रदेशसंगको सहकार्यमा सामग्री खरिद र तालिम कार्यक्रम संचालन गर्ने कुरा उल्लेख गरीएको छ । यहाँ विचारणीय कुरा के छ भने वन डडेलोका विपद रोकथामको लागि प्रभाबकारी सूचना र डडेलो नियन्त्रणका प्रणाली आवश्यक रहन्छ । यसका लागि प्रत्येक प्रदेशमा १/१ वटा अग्नि नियंत्रण हेलिकप्टरको व्यवस्था गर्न र त्यसको उचित प्रयोगको आवश्कता देखिन्छ । सरकारसँग यो व्यवस्था अविलम्व गर्न हामी अनुरोध गर्दछौँ ।

३. सरकारले इलाम, मुस्ताङ, दाङ, र अछाममा वायु गुणस्तर मापन केन्द्र विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । यधपी, हाल देशका विभिन्न भागमा राखिएका वायु गुणस्तर अनुगमन स्टेशनहरु बिग्रिएको अवस्थामा भएको हुदा उक्त उपकरणको उचित व्यवस्थापन भएपश्चात मात्र यस तर्फ ध्यान दिन एवं सस्तो दरका सेन्सर प्रबर्धन गर्न र संकलित तथ्यांकको पनि उचित प्रयोग गर्ने तर्फ ध्यान दिन आग्रह गर्दछौँ ।

४. सरकारको वक्तव्यमा सन् २०४५ भित्र खुद कार्वन उत्सर्जनको लक्ष्य हासिल गर्न परम्परागत उर्जा एवं आयातित् इन्धनलाई निरुत्साहित गरि हरित उर्जा उपयोग र प्रबर्द्धनलाई जोड दिने भने पनि अर्को तर्फ पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्ने दोहोरो नीति सार्वजनिक भएको छ । पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्नुको सट्टामा पैदल यात्रु, साइकल तथा विधुतीय सवारी लाइ प्रवर्द्धन गर्न नमुना शहरी गतिशीलता गुरुयोजना बनाइ, कार्यान्वयन गर्न यस सञ्जाल अनुरोध गर्दछ ।

५. विधुतीय सवारी साधनको प्रयोगलाई बढाउने गरी निजि क्षेत्र समेतको लगानीमा चार्जिंग स्टेशनहरुको विस्तार गर्ने भनिए पनि सार्वजानिक यातायात सम्बन्धी स्पष्ट प्रतिबद्धता र कार्यक्रम आउन सकेको छैन । सरकारले सकेसम्म निजी कारलाई भन्दा सार्वजनिक ठूला सवारीहरूलाई प्रोत्साहन गरून् । यसका साथै विधुतीय सवारीमा लगाइएको अव्यवहारिक करको दायरालाईफराकीलो बनाइ, सबै विधुतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न, न्युनतम कर मात्र लगाउने व्यवस्था गर्न यस संजाल अनुरोध गर्दछ ।

६. वायु गुणस्तरका दृष्टिले नेपाल विश्वकै तेस्रो सबैभन्दा प्रदूषित मुलुक हो । यहाँको हावा विश्व स्वास्थ्य संगठनको वायु गुणस्तरको मापदण्ड भन्दा लगभग १६औ गुणा ज्यादा प्रदूषित छ । वि.स. २०८० बैशाख ५ गते काठमाडौँ विश्वकै प्रदूषित शहरहरु मध्ये एक नम्बरमा परेको थियो । प्रदुषित सहरको सूचीमा पहिलो नम्बर हुनुमा विशेषत लामो समयदेखि को खडेरी र वनजंगलमा लागेको डडेलोलाई प्रमुख कारण लिन सकिन्छ । यस समय (चैत र बैशाख) वायूको गुणस्तर खतरनाक स्थान (२००–४०० सम्म)मा रहने गरेको छ । यस्तो (वायु प्रदुषण) जोखिमको तथ्याङ्कलाइ पनि वहुप्रकोपीय पूर्वचेतावनी राष्ट्रिय प्रणालीमा समाबेश गरी, यस्तो जोखिमका बेला अनिवार्य सतर्कता अपनाउन यस संजाल अनुरोध गर्दछ ।

७. प्लास्टिक झोला आ व. २०६८, २०७२ र २०७८ गरी ३ पटक प्रतिबन्ध गरिएको भएतापनि यसको पूर्ण रूपमा कार्यान्वयन नभएकोहुँदा यसको पुर्ण कार्यन्वयन गरी कपडाको झोला प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्यमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न यस संजाल माग गर्दछ ।

८. वातावरण प्रदुषणको मुख्य करक गुटखा तथा सूर्ती प्याकिङ, यत्रतत्र फाकिने गरेको र यी प्याकिङ सजिलै नसडने, लामो समय प्रकृतिमा रहि, वातावरण ह्रास गराएको छ । सरकारले यस्ता प्याकिङलाई २०८१ बैशाख १ गते देखि अनिवार्यरुपमा जैविक रुपमा सडेर जाने वायो डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था गर्ने कार्यको स्वागत गर्दै, प्रभावकारी रुपमा कार्यान्वयन गर्न यस संजाल जोडदार माग गर्दछ ।

९. डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरीने किटनासक विषादीले वायु प्रदुषणमा प्रभाव पार्ने भएकाले यस्ता अभियान संचालन गर्दा वायु प्रदुषण नगराइकन संचालन गर्न तथा वायु प्रदुषण सुन्य गरी प्रयोग गर्न मिल्ने प्रविधिको मात्र प्रयोग गरीयोस् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१