खाँणका कानुन व्यवसायीको बहस लम्बिएपछि न्यायाधिसले भने–अदालतलाई निरिह बनाइयो

काठमाडौं-

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट आज पनि थुनछेक बहस हुने भएको छ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मंगलबार सुरु भएको खाँणका कानुन व्यवसायीको बहस नसकिएकाले बुधबार पनि जारी रहने भएको हो।

 

खाँणका कानुन व्यवसायीहरुको बहस लम्बिएपछि न्यायाधीश न्यौपानेले अदालतलाई निरीह बनाइएको गुनासो गरेका थिए। खाँणका कानुन व्यवसायीले खाँणलाई फसाउन राज्य नै लागेको गुनासो गरेपछि न्यायाधीश न्यौपानेले ‘राज्यविरुद्धको अपराधमा राज्य नलागेर को लाग्छ त’ भनेर प्रश्न गरेका थिए। न्यायाधीशको प्रश्नमा खाँणका कानुन व्यवसायीहरु नाजवाफ बनेका थिए।

 

कानुन व्यवसायीहरुले अभियोगपत्र वाचन गर्न थाले पनि न्यायाधीश न्यौपानेले पटक पटक विषयमा आउनुहोस् भनेर अनुरोध नै गर्नु परेको थियो।

 

खाँणसहित यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १३ जनाको बहस भएको छ। अझै ५ जनाको थुनछेक बहस हुन बाँकी छ। अभियुक्त टेकनाथ रिजाल, आङ्टावा शेर्पा, लक्ष्मी महर्जन, शमशेर मियाँ र हरिभक्त महर्जनको बहस बाँकी रहेको अदालतले जनाएको छ।

 

प्रतिवादीहरूका तर्फबाट बहस सकिएपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१