भित्रियाे नेपालमा मनसुन

काठमाडौं । यस वर्षको मनसुन प्रणाली भित्रिएको छ ।

बुधबार नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा मनसुन भित्रिएकाे हाे ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

अघिल्ला तीन वर्ष लानिनाको प्रभाव थियो । तर यस वर्ष अलनिनोको प्रभाव हुने सम्भावना रहेकाले वर्षा कम हुने प्रक्षेपण गरिएको मौसमविदको भनाइ छ । समुद्रको तापक्रम औसतभन्दा बढी हुनुलाई अलनिनो भनिन्छ । यसैको असर वायुमण्डलमा पर्दा वर्षा कम गराउँछ ।

प्रशान्त महासागरको पूर्वीय, पश्चिमी र केन्द्रको वायुको तापक्रम र समुद्रको पानीको तापक्रमका आधारमा ‘एलनिनो’ वा ‘लानिना’ मौसम प्रणालीको अनुमान गरिन्छ ।

तातो तापक्रम भएमा एलनिनो विकसित र चिसाे तापक्रम भएमा लानिना विकसित हुन्छ ।

यो वर्ष पनि औसत वर्षा हुने मौसमविद्हरुले अनुमान गरेका छन् । सामान्यतया नेपालमा वर्षभरिमा हुने वर्षाका ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने गर्दछ ।

प्रत्येक वर्ष नेपालमा बंगालको खाडीबाट आएको मनसुनी वायुले वर्षा हुने गर्दछ । जुन हिन्द महासागरको दक्षिण गोलार्द्धबाट उत्पन्न भएर आउने हो । मौसमविदका अनुसार मनसुनी वायु दक्षिणी गोलार्द्धबाट अफ्रिका महादेशको पूर्वी किनार हुँदै भारतको केरला आइपुग्छ । त्यहाँदेखि एक भाग छुट्टिएर उत्तरपश्चिम भारत र पाकिस्तानतिर जान्छ ।

आधा वायु भारतीय भूमि पार गर्दै बंगालको खाडीमा आइपुग्छ र बंगालको खाडीमा बनेको प्रणालीले त्यसमा पानीको मात्रा बढाउँछ । बंगालको खाडीबाट आधा मनसुनी वायु म्यानमारतर्फ जान्छ भने आधा पूर्वी नेपाल हुँदै देशभर फैलन्छ । यो मनसुनी चक्र हरेक वर्ष यसरी नै हुने गर्दछ ।

मनसुन पूर्वानुमान गर्दा वायुको चाप, आद्रता, वायुको गति, बादलको मात्रा लगायत कुरा समेटिन्छन् । यसरी गणितीय हिसाब गरेर मौसम पूर्वानुमान गर्दा निश्चित ठाउँको सिस्टम अर्काे निश्चित ठाउँमा कति समयमा पुग्छ र त्यहाँ पुगेपछि के हुन्छ भनेर विश्लेषण गरी मौसम पूर्वानुमान गर्ने मौसमविदहरुको भनाइ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१