सडकमा फ्याँकियो कालिमाटी तरकारी बजारकाे गोलभेँडा

काठमाडौं । किसानहरु तरकारीको उचित मूल्य नपाएको भन्दै विरोधमा उत्रिएका छन् ।

गोलभेँडाको उचित मूल्य नपाएको भन्दै आन्दोलित किसानले आइतवार विहानै कालिमाटी तरकारी बजार अगाडीको सडकमा गोलभेँडा फ्याँकेर विरोध गरेका हुन्।

तरकारीको उचित मूल्य नपाएका पीडित किसानले कृषि गरेर खान र बालबालिकालाई पढाउन पनि नपुगेको भन्दै शरिरमा पेट्रोल खनाएर मर्न पर्ने अवस्था आएको बताएका छन् ।

उनले यस्तै चल्ने हो भने सबै किसानलाई फाँसि दिन सरकारलाई चेतावनी दिए । उनले भने, ‘व्यापारीहरुले बिउ किन्नु पर्दैन् कामदार लगाउनु पर्दैन् फाईदा नै छ । कृषि गर्ने प्रत्येक किसानलाई फाँसि दिनु पर्छ यो सरकारले, होईन भने मेरो देश कृषिप्रधान भनेर किन राखियो, देश कृषिप्रधान होईन भनेर लेख्नुपर्छ । भोलिपर्सि हेर्दै जानु कति किसान मर्छ , शरिरमा पेट्रोल खनाएर मोर्नुपर्ने अवस्था आएको छ । खान पुग्या छैन्, बालबालिकालाई पढाउन पुग्या छैन् ।’

यस्तै, नेपाल कृषिप्रधान देश भनेर भन्नलाई मात्र भएको तर किसानहरु भने तेल खनाएर मोर्नुपर्ने अवस्थामा पुगेको पीडित किसान गीता कार्की बताउँछिन् । उनले दुःख गरेर खेती गरियो केही हुन्छ भनेर तर २५ किलो गोलभेँडा १ सय रुपैयाँमा बेच्नु पर्दा मोर्नु कि बाच्नु अवस्थामा पुगेको बताइन् ।

उनले भनिन्, ‘भनाई चाही ठूलो छ, नेपाल कृषिप्रधान देश भनेर, खोई त कृषि प्रधान देश अरुको झोला भरिन्छ हामीलाई भने तेल खनाएर मर्नु जस्तो बाध्यता भएको छ, ऋणमा डुबेर । २५ किलो गोलभेँडाको १ सय रुपैयाँ बेचेर हामीले के गर्ने, तीन दिन भयो फर्म नगएको कामदारहरुले पैसा माग्छ भनेर, मरि मरि केही हुन्छ कि भनेर गरियो, कति दुःख गरियो बेच्ने बेला सय रुपैयाँमा २५ किलो बेच्छन् । पानी, विउ, औषधी, विजुलीको पैसा तिर्न पर्छ, बेच्ने बेला यस्तो छ ।’

यस्तै, अर्का पीडित कर्ण बहादुर विष्टले किसानहरुले घाटामा काम गनुपरे पनि व्यापारीहरु फाईदामा रहेका भन्दै कालिमाटी तरकारी बजार बन्द गर्नुपर्ने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१