
रुस र युक्रेनबीच भइरहेको युद्धमा यतिबेला युद्धको मुख्य रणभूमि राजधानी किभ बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बीबीसीका अनुसार किभमा रुसी सैनिक पुगिसकेको छ । युक्रेनका राष्ट्रपतिले भने रुसी सेनालाई रोक्न आफ्ना सेनालाई आग्रह गरेका छन् ।
राजधानी किभमा ५० बढी बिस्फोटका आवाज साथसाथै मशिनगन फायरिङको आवाज सुनिएको छ । घरबाहिर ननिस्किन स्थानीय प्रशासनले नागरिकसमक्ष आग्रह गरेको छ ।
राजधानीमा मैदान स्क्वाएरनजिकै एउटा शक्तिशाली विस्फोटनको आवाज सुनिएको छ भने ट्रोइयस्चना क्षेत्रमा एउटाभन्दा बढी विस्फोटन भएका विवरण आएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार किभमा गरिएका बमबारीको आवाज सहरको मध्यभागबाट टाढा-टाढासम्म सुन्न सकिन्छ ।
फक्स न्यूजका एक संवाददाताका अनुसार राजधानीमा अहिले एकभन्दा बढी दिशाबाट आक्रमण भइरहेको छ ।
ट्रोइयस्चना जिल्लाको सीएचपी-सिक्स ऊर्जा केन्द्रनजिकै लडाइँ भइरहेको युक्रेनी सेनाले जनाएको छ । सहरमा विद्युत् आपूर्ति बन्द गरिदिने उद्देश्यले उक्त आक्रमण गरिएको हुनसक्ने ठानिएको छ ।
पिरिमोही एभिन्यूमा क्षतिग्रस्त गाडीसँग आगो बलिरहेका दृश्यहरू देखिएका छन् ।