• २०८३ जेठ २२
  • 2026 June 05, Friday

आजबाट काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सोमबारदेखि काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद चलचित्रको मूल भागबाट हटाउन दिएको ३ दिन समय समाप्त भएको कारण महानगरभित्र भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि निषेध गर्ने बताएका हुन् ।

उनले लेखेका छन्, भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ।

नेपालको स्वतन्त्रता, स्वाभिमान र राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य भएको उल्लेख गर्दै उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले लेखेका छन्, नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन । नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने पनि उनको भनाई छ ।