हत्या आरोपमा र्‍यापर गिरीशसहित मोरङमा तीनविरुद्ध किटानी जाहेरी

काठमाडौं । चर्चित र्‍यापर गिरिश खतिवडासहित तीन जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी परेको छ । तीनविरुद्ध मोरङको धनपालथान गाउँपालिका-४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारीलाई हत्या गरेको आरोपमा जाहेरी परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका अनुसार उजुरीमा गिरिशले सञ्चालन गरेको जि क्याफे एण्ड बिस्त्रोमा पैसा माग्न गएको बेला उनको हत्या गरिएको उल्लेख छ । ‘कासीदका भाई मासिद अन्सारी दाजुको हत्या गिरिशसहित तीनले गरेको भन्दै कार्यालयमा गत असार ४ गते उजुरी दिन आएका थिए’,प्रहरीले भने, ‘घटना के कसरी भएको भनेर हामी अनुसन्धानमै छौं । घटनाको प्रकृति र प्राविधिक अनुसन्धान गरिसकेपछि मात्र घटनाबारे थप जानकारी दिनेछौं ।’

उनले गिरिशका बारेमा निगरानी राखिरहेको पनि जानकारी दिए । उजुरीमा क्याफे सञ्चालक विराटनगर महानगरपालिका ८ मधुमाला निवासी गिरीश खतिवडा, क्याफेमा काम गर्ने जहादा गाउँपालिका-३ का करण राजवंशी र विराटनगर महानगरपालिका-१६ बस्ने अनुराग राउतको नाम उल्लेख छ ।

हाल अनुसन्धान जारी रहेकाले किटानी जाहेरी परेका तीनै जनामाथि प्रहरीले निगरानी गरिरहेको जनाए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१