
काठमाडौं । वीर अस्पतालले अस्पतालको जनरल वेडमा लाग्दै आएको शुल्क हटाएको छ ।
स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्देशनमा जनरल वेडमा यसअघि लाग्दै आएको दुई सय रुपैयाँ शुल्क मिनाहा गर्ने निर्णय भएको उपकुलपति प्रोफेसर डाक्टर भुपेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ बमोजिम उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र डिनको नियुक्तिपछि बसेको कार्यकारी परिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिदैँ उनले अस्पतालको सुधार र विस्तारबारे छलफल भएको बताए ।
उनले भने ‘केही समय पहिले कोभिडको समयमा जनरल वेडमा पनि दुई सय चार्ज लगाउने गरेको रहेछ । आज हामीले निशुल्क गर्ने निर्णय गरेका छौं । त्यसका लागि सहकुलपति स्वास्थ्यमन्त्रीले पनि निर्देशन दिनुभएको छ ।’
विर अस्पलातको नियन्त्रण प्रणाली निर्माण गरेर कर्मचारीको नियन्त्रण र नियमनको काम थालिएको उनले बताए ।
उनले दुवाकोटको ५ सय ७० रोपनी जग्गा केही अतिक्रमण भएको देखिएको बताए । मास्टर प्लान गरे पनि विविध कारणले अघि बढ्न नसकेको बताएका डाक्टर बस्नेतले सम्वन्धित निकाय मन्त्रालय, भवन विभाग, अर्थमन्त्रालयसंग समन्वय गरेर अघि बढाउने निर्णय भएको बताए ।