• २०८३ जेठ २२
  • 2026 June 05, Friday

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो । उनको खाता प्रयोग भएको देखिएकोले उनलाई अनुसन्धानको दायरामा ल्याइएको एसएसपी कार्कीले बताए।

‘उनको खातामा ट्रान्ज्याक्सन भएको देखिएको छ। त्यसैले उनलाई पक्राउ गरिएको हो’, उनले भने।

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका थिए। तीमध्ये २ जनाबाहेक १६ जनालाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनाको हकमा थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। यद्यपि गुरूङ र महर्जनलाई भने सम्पत्ति शुद्धीकरणको जिम्मा लगाइएको छ।