
काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को छायांकन सकिएको छ ।
सोमबार काठमाडौंको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा फिल्मको छायांकन सकिएको हो । ३६ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् ।
‘जनता भर्सेस शक्ति’ को विषयवस्तुमा आधारित फिल्म कात्तिक २४ गते प्रदर्शन हुनेछ ।
निर्देशक बस्नेतका अनुसार फिल्म सोसल ड्रामा जनरामा बन्नेछ। फिल्मको कथा आकाश बरालले तयार पारेका हुन् ।
रौनकविक्रम कँडेलले निर्माण गरेको फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा र विजय बरालको मुख्य भूमिका छ ।