कोशी प्रदेशमा ढल्याे एमाले नेतृत्वको सरकार

काठमाडाैं । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । एमालेले ६ महिनाबीचमा ४ प्रदेशको नेतृत्व गुमाएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन सकेनन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि सभामुख बाबुराम गौतमले मतविभाजन प्रक्रिया अघि बढाएका थिए ।

प्रदेशसभाको बैठकलाई सम्बोधनका क्रममा उनले आफ्नो नेतृत्वमा प्रदेश सरकारले गति लिएको भन्दै कांग्रेस र माओवादीसहितका दलहरुसँग पनि साथ मागेका थिए।

सभामुख गौतमका अनुसार ९३ सांसद्‍मध्ये मत विभाजनका क्रममा ८९ जना उपस्थित रहेका थिए ।

तर कार्कीको पक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसदले मात्रै मत दिए। यस्तोमा कार्कीले मागेको विश्वासको मतको पक्षमा ४६ मत परेको हो।

उनको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ जना सांसद थिए। तर कार्कीको विपक्षमा ४३ मत मात्रै परेको छ।

कोशीमा जनता समाजवादीकी एक्ली सांसद निर्मला लिम्बु भने बैठकमा उपस्थित नै भइनन्। उनलाई विश्वासको मतको पक्षमा ल्याउने कार्कीको प्रयास सफल हुन सकेन ।

यस्तोमा बहुमतका लागि कार्कीलाई ४७ मत चाहिनेमा ४६ मात्रै आयो भने विपक्षमा ४३ मत खसेको छ ।

कार्की २०७९ पुस २४ गते मुख्यमन्त्री बनेका थिए । त्यसबेला उनलाई एमाले, माओवादी, राप्रपा र जसपाका सांसदको समर्थन थियो ।

तर पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धन भंग भएपछि मा‌ओवादी र जसपाले समर्थन फिर्ता लिँदा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो । यस्तोमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

कार्की पुस २४ मा संविधानको धारा १६८ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गरेर मुख्यमन्त्री बनेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१