
काठमाडौं । बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ ।
प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो ।
नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निणयार्थ पेश गरेका थिए ।
सम्झौताका पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन ।
एमसिसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए । तर सांसद भीम रावल भने छलफल प्रक्रियामा सहभागी भएका थिए ।
उनले रोष्ट्रममै गएर आफ्ना धारणा राखे । रावलले एमसिसी पारित गर्नु नहुने बताएका थिए ।
संसदबाट अनुमोदन भएपछि ५० करोड अमेरिकी डलरको अनुदान कार्यक्रम कार्यान्वयमा आउनेछ । उक्त रकम नेपालका सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउन प्रयोग हुनेछ ।