• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

बैंकिङ कसुरमा पक्राउ परे लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । बाँकेको डुडुवा गाउँपालिका– १ होलियाबाट यादवलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

गत माघ १० गते रूपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि पूर्वमन्त्री यादवमाथि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका यादव जनता समाजवादी पार्टी हुँदै २०७९ सालको निर्वाचनमा एमाले प्रवेश गरी उम्मेदवार बनेका थिए । तर उनी जसपाका उम्मेदवारसँग पराजित भएका थिए ।

२०७४ सालमा लुम्बिनी प्रदेशसभामा जसपाको तर्फबाट बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ (१) बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत भएका थिए ।