एमसीसी अनुमोदन भएपछि देश दुर्घटनाबाट बच्यो भनेर खुशी लागेको छ : प्रचण्ड (भिडियाेसहित)

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित पारित भएकोमा निकै खुसी भएको बताएका छन् ।

सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफूले सुरूदेखि नै एमसिसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेकाले एमसीसी पारित हुँदा खुसी भएको बताएका हुन् ।

एमसीसीका कारण शान्ति सम्झौता दुर्घटनामा पर्ने, संविधान डिरेल हुने र गठबन्धन टुट्यो भने धेरै चिज उल्टिने खतरा देखेपछि बीचको बाटो खोजेर एमसीसी अनुमोदन गरेको उनले बताए ।

देशलाई दुर्घटनामा जान नदिन व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदनको लागि पार्टीमा निर्णय गराएको पनि उनले बताए ।

एमसीसीसँग पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणाको कानुनी हैसियत हुने भन्दै उनले यसले नेपालको राष्ट्रिय सुरक्षालगायत विषय स्पष्ट पारेको पनि दाबी गरे ।

व्याख्यात्मक टिप्पणीबारे अमेरिकी दूतावासबाट पनि सकारात्मक संकेत आएको प्रचण्डकाे भनाइ छ ।

उनले भने, ‘अर्को पक्षले यदि यसलाई मानेन भने स्वतः खारेज हुन्छ भन्नेमा हामी क्लियर छाैँ । त्यो त्यसको अंग बन्छ भन्ने भयो । केही साथीहरुले अमेरिकी दूतावासमा पनि कुरा गर्नुभयो । त्यताबाट पनि सकारात्मक संकेत आयो । त्यसैले हामी अगाडि बढ्यौं र संविधान र शान्ति प्रक्रिया जोगियो ।’

एमसीसीको विरोध गरेपछि जनताकाे सहानुभुति पाइन्छ भने। केही पार्टीका नेताहरुले विराेध गरिरहेकाे पनि प्रचण्डले बताए ।

हेर्नुहाेस् भिडियाे :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१