
काठमाडौं । जीटूजी व्यवस्थामार्फत युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच साेमबार समझदारी पत्रमा हस्ताक्षर भएकाे छ ।
भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा १६ गते आयोजित एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवम् समझदारी पत्रको आदान प्रदान भएकाे हाे । समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता रहेकाे थियाे ।
हस्ताक्षर समारोहमा बोल्दै सचिव राजेशकुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवम् बहुपक्षीय सम्बन्धको चर्चा गरे । उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्याइ कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा पनि गरे ।
दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ ।