• २०८३ असार १४
  • 2026 June 28, Sunday

आफूमाथि देशभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आयो : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

सांसद निर्वाचित भएको सय दिन पूरा भएको अवसरमा बुधबार आफ्नो निर्वाचन क्षेत्र चितवन – २ का मतदाताहरुसँग भेटघाट गर्दै सांसद लामिछानेले आफूमाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आएको बताए ।

उनले भने ‘ म माथि देशै भरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आएको छ, आफूले निर्वाचनमा बोलेका कुराहरुलाई अगाडि सार्ने र त्यसको लागि धेरै काम गर्न बाँकी रहेको छ ।’

बुधबारबाट सांसद लामिछानेले औपचारिक रुपमा चितवन-२ का मतदाताहरुको लागि सचिवालय पनि स्थापना समेत गरेका छन् ।

उनले भने ‘सुरुवाती केही दिनहरुमा आवश्यकता परेका केही व्यक्तिहरुको फोन उठाउन गाह्रो हुने अवस्था हुन सक्छ । सुरुवातका केही समयहरु व्यवस्थित गर्न केही न केही तल माथि हुन्छ होला त्यसलाई अन्यथा नलिनुहोला ।’

सभापति लामिछानेले चितवन-२ प्रतिको आफ्नो दायित्व भने नभूल्ने बताए ।