• २०८३ जेठ २२
  • 2026 June 05, Friday

क्रिकेटमा लगानी बढाऔँ – क्यान अध्यक्ष चन्द

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपाली खेलकुदमध्ये सबैभन्दा धेरै लगानी क्रिकेटमा लगाउन आवश्यक रहेको बताएका छन् ।

शनिबार धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको साधारण सभामा बोल्दै चन्दले क्रिकेटले मात्रै तत्काल विश्वकप खेल्न सम्भव भएको हुँदा सरकारले लगानी बढाउनु पर्ने बताए ।

उनले नेपाली क्रिकेटलाई विश्वले चिनिसकेकाले भन्दै आगामी दिनमा खेल उत्कृष्ट बनाउनको लागि लगानी बढाउनु पर्ने बताए ।

उनले भने, ‘नेपालप्रति आईसीसी अत्यन्तै सकारात्मक र नेपाली क्रिकेटको क्रेजलाई नजिकबाट नियालिरहेको छ त्यसैले यो स्वर्णिम अवसरलाई समयमै हामीले सदुपयोग गर्नुपर्ने र अबको समय भौतिक पूर्वाधारमा लगाउनुपर्ने छ ।’

सन २०२४ मा अमेरिका र वेस्टइण्डिजमा संयुक्त रूपमा आयोजना हुने टी-ट्वाण्टी विश्वकप एसिया क्वालिफायरको आयोजना गर्ने जिम्मा नेपाललाई दिनु, सन २०२७ मा यु–१७ महिला विश्वकपको सह आयोजक नेपाललाई बनाइनुले पनि नेपालको गरिमा बढेको अध्यक्ष चन्दको भनाइ छ ।

नेपालमा क्रिकेट क्रेज देखेर विश्वका अधिकांश देशहरू नेपाल आउन चाहेपनी सुरक्षा सहितको स्टेडियम बनाउन नसक्दा त्यो सम्भव नभएको उनले दाबी गरे ।