• २०८३ असार १४
  • 2026 June 28, Sunday

सुशासनको अभियान सबै स्थानीय तहमा चलाउनुपर्छ : मन्त्री शर्मा

प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सुशासनको अभियान सबै स्थानीय तहका सन्चालन गर्नुपर्ने बताएकी छन् ।

स्थानीय तहदेखी हरेक सेवाप्रवाह गर्ने निकायको कामले नै नागरिकमा सरकारप्रतिको धारणा निर्माण गर्ने हुनाले सबै तह र निकायको सामुहिक प्रयास आवश्यक हुने उनले औँल्याउन् ।

प्युठानको प्युठान नगरपालिकाले आयोजना गरेको अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले जनताको दैनिक सेवा प्रवाहको मुख्य निकाय स्थानीय तह भएकाले सबै स्थानीय तहमा सुशासनको अभियान सन्चालन गर्नुपर्ने बताए ।

स्थानीय तहको सेवाले नागरिकमा सरकारप्रतिको धारणा निर्माण गर्ने हुनाले सबै तह र निकायको सामूहिक प्रयास आवश्यक रहेको उनले स्पष्ट पारिन् । सरकारले गरेको र गुणस्तरीय सेवाप्रवाह र भ्रष्टाचार विरुद्धकाे अभियान सबै तहमा सञ्चालन गरेमा अभियानले छिटै सार्थकता पाउने बताइन् ।

अर्को प्रसङ्गमा मन्त्री शर्माले सडक विकासको मेरुदण्ड भएकाले सडक सुधार तथा विस्तारमा सर्वपक्षीय सहमति गर्नुपर्ने बताइन् । भालुवाङ-प्युठान सहायक राजमार्गको चेरनेटा-बाग्दुला-सारिवाङ सडकखण्ड विस्तार गर्ने सवालमा स्थानीय तह र सबै राजनीतिक दलले साझा सहमतिको आधारमा निस्कर्ष निकाल्नुपर्ने उनले बताइन् ।

भालुवाङ प्युठान सडकखण्डको विस्तारका लागि सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयमा पहल थालिएकाले प्युठानको मुख्य बजारक्षेत्र हुँदै जाने सडकहरु विस्तारका लागि स्थानीय सरकारको अगुवाइमा साझा धारणा बनाएर विकास निर्माणलाई सहज बनाउनुपर्ने मन्त्री शर्माले बताइन् ।

प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्यहरु तुल्सीराम पोख्रेल, निमा गिरी, धनलक्ष्मी श्रेष्ठ, लुम्विनी प्रदेशका पूर्वअर्थमन्त्री कृष्णध्वज खड्का, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला र सडकको क्षेत्र विस्तारबाट प्रभावित हुने स्थानीयको उपस्थिति रहेको थियो ।