काठमाडौं । अभिनेता सारूक ताम्राकारको अन्तिम फिल्म ‘ह्यासट्याग माया’ म्युजिक भिडिओको रूपमा सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ‘माया’ बोलको गीत सार्वजनिक गरिएको हो । भिडिओमा सारूक र अभिनेत्री निकिता आचार्यको दृश्यलाई समावेश गरिएको छ । यसमा फिल्मकी अर्की अभिनेत्री नम्रता श्रेष्ठको कुनै दृश्य समावेश गरिएको छैन ।
एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ भने रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । गीतमा सर्मिला थापाको लगानी रहेको छ ।
उज्जवल जोशीले छायांकन गरेको गीतको भिडिओलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।
निधनअघि सारूक फिल्म ‘ह्यासट्याग माया’ मा काम गरिरहेका थिए । फिल्मलाई राजिव गुरुङले निर्देशन गरिरहेका थिए । असार २१ गते राति सारूक काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका थिए ।
सारूक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनले ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन् ।