काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका ठुला पार्टीहरूबिच सत्ता टिकाइरहने र देश लुटिरहने सहमति भएको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका केन्द्रीत विरोध सभा कार्यक्रमलाई सम्बोधन गर्दै, उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र अनुसन्धान भएको भए झन् ठुला ठुला मानिस पर्छन् भनेर सामसुम गरेको आरोप लगाए ।
पार्टीहरूबीच तै चुप मै चुप गरेर सत्ता टिकाइरहने र देश लुटिरहने सहमति भएको उनको दाबी छ ।
उनले भने,‘कुन पार्टी चोखो रहेछ त ? चुनाव लड्ने बेला अलग अलग लडे । पार्टी पनि अलग, खानी बेला त एकै ठाउँ हुँदा रहेछन् त ?नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि अहिले पनि पुलिसले स्वतन्त्रपूर्वक अनुसन्धान गरेको भए त्यो भन्दा ठुला ठुला मानिस पर्ने थिए । तर सामसुम गरे। तैँ चुप गर्ने मैँ चुप गर्ने सत्ता टिकाइरहने र देश लुटिरहने सहमति भएको छ ।’
उनले एमसीसी सम्झौताबाट जति पैसा आउँछ त्यसको कयौं गुना भ्रष्टाचार एनसेलबाट भएको उनको दाबी छ ।