• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

एसियाली खेलकुदका सबै खेल सकिए, नेपाल ३३ औं स्थानमा

चीनमा आयोजित १९ औं एसियाली खेलकुद सकिएको छ । जसमा आयोजक राष्ट्र चीन प्रथम भएको छ भने जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भएका छन् । नेपाल १८ औं संस्करणमा जस्तै ३३ औं स्थानमा यथावत रहेको छ ।

एक रजत र एक कांस्य जितेको नेपाल २ पदकसहित संयुक्त रुपमा ३३औं स्थानमा रह्यो । आयोजक चीनले १९ औं एसियाली खेलकुद (एसियाड)मा कीर्तिमान २०१ स्वर्ण जितेको छ ।

चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो ।

जसमा चीनले सर्वाधिक २०१ स्वर्ण १११ रजत र ७१ कांस्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । चीनले अन्तिम दिन आइतबार आर्टिस्टिम स्विमिङमा स्वर्ण जित्दै कुल २०१ स्वर्ण जितेको हो ।

यस्तै जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो ।

यस्तै भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो ।

यस पटक एसियाको ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जितेका थिए । साउथ एसियन राष्ट्र भुटान र माल्दिभ्स, यमन र टिमोर लिस्टेले भने कुनै पदक जित्न सकेन ।