• २०८३ असार १५
  • 2026 June 29, Monday

संघीयता कसैको आशीर्वाद र हुकुम बक्सिसमा आएको होईन् : सांसद यादव

काठमाडौं । जनता समाजवादीका प्रमुख सचेतक तथा सांसद प्रदीप यादवले प्रदेश कसैको आशिर्वाद र हुकुम बक्सिसमा नआएको भन्दै यसको खारेजी सोच्न सम्म पनि नसकिने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रदेशहरूमा केही तत्वहरूले ग्रान्ड डिजाइनमा प्रदेश खारेजी गर्नुपर्छ भनेर जुलुसहरू निकालिरहेको भन्दै उनले भने, ‘अहिले धेरै प्रदेशहरूमा केही तत्वहरूले ग्रान्ड डिजाइनमा प्रदेश खारेजी गर्नुपर्छ भनेर जुलुसहरू निकालिरहेको छ । संघीयता यसरी आएको होइन, कसैको चाँहि आशिर्वादमा, हुकुम बक्सिसमा आएको होइन्। संघीयता नेपाली जनताको बलिदानीले आएको छ । नेपाली जनताको खुन पसिनाले आएको छ । संघीयतालाई मजबुत बनाउनका निमित्त सरकारको काम हो ।’

उनले सरकारले सम्पूर्ण शक्ति केन्द्रमा राख्ने र प्रदेशलाई अधिकार नदिने, प्रहरी प्रशासन केन्द्रमा राख्ने र प्रदेशमा नदिने अनि संघीयता मजबुद कसरी हुन्छ भन्दै प्रश्न गरे ? अघिल्लो सरकारले जस्तै वर्तमान सरकार पनि प्रदेश बदनाम गर्ने बाटोमा गइरहेको उनको दाबी छ ।

उनले भने,‘सकारले चाँहि सम्पूर्ण शक्ति केन्द्रमा राख्ने प्रदेशलाई अधिकार नदिने, प्रहरी प्रशासन केन्द्रमा राख्ने र प्रदेशमा नदिने अनि संघीयता मजबुद कसरी हुन्छ ? प्रदेश त बदनाम भइहाल्छ अघिल्लो सरकारले पनि त्यै काम गर्यो, अहिलेको वर्तमान सरकार पनि त्यै बाटोमा गइरहेको छ ।’