काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शिक्षाको विकासका लागि प्राविधिक शिक्षा नै प्रमुख आधार भएको बताएका छन् । कावासोतीस्थित मध्यविन्दु बहुमुखी क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उनले विकासका लागि शिक्षाकाे प्रमुख आधार प्राविधिक शिक्षा भएकाे स्पष्ट पारेका हुन् ।
उक्त अवसरमा आफू नेतृत्वको सरकारले गरेको कामको चर्चासहित अध्यक्ष ओलीले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म विकासको काम गरेको दाबी गरे ।
उनले कालीगण्डकी करिडोर, पुल, बाटोलगायतका भौतिक निर्माणको काम गरेको चर्चा गरी वर्तमान सरकारले यसअघिको सरकारले थालेको विकासको कामलाई निरन्तरता दिनुपर्ने बताए ।
उक्त कार्यक्रममा अध्यक्ष ओलीले मध्यविन्दु क्याम्पसको नवनिर्मित पुस्तकालय भवन र प्रशासनिक भवनको उद्घाटन गरेका थिए । उक्त कार्यक्रमकाे अध्यक्षता जीवन श्रेष्ठले गरेका थिए । विशेष अतिथिमा तिलक महत रहेका थिए ।