
काठमाडाैं । नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक हित र चासोका विविध विषयका साथै आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउने बारेमा विचारविमर्श गरेको थियो । भविष्यमा सञ्चालन गर्न सकिने द्विपक्षीय विकास परियोजनाबारे पनि प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलले छलफल गरेको थियो ।
नेपाल–फ्रान्स सम्बन्धलाई अझ उन्नत तुल्याउन संसदीय समूहले निर्वाह गरेको भूमिकाको सराहना गर्दै प्रधानमन्त्री देउवाले व्यापार, लगानी, पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तन प्रतिकार्यलगायत क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि अपरिहार्य भएकामा जोड दिएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अध्यक्ष रियोतोँले राजनीति र जलवायु परिवर्तनका प्रभावको सामना गर्न नेपालका महिलाहरूको सहभागिता बढाएकामा नेपालको प्रशंसा गर्दै दिगो विकास र कृषि क्षेत्रमा फ्रान्स र नेपालबीच सहयोग सुदृढ तुल्याउने आफ्ना चाहना अभिव्यक्त गरेका थिए ।