• २०८३ जेठ ३०
  • 2026 June 13, Saturday

रूसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु

काठमाडौं । रूसी सेनाका कार्यरत तीन नेपालीको मृत्यु भएको छ ।

मस्कोस्थित नेपाली दूतावासले गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई पत्राचार गरेर दिएको जानकारीअनुसार रूसी सेनामा कार्यरत रहेकै बेला उनीहरूको मृत्यु भएको हो ।

दूतावासका अनुसार स्याङ्जाका प्रितम कार्की, दोलाखका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान छन् । उनीहरूको गत कात्तिक २९ गते मृत्यु भएको दूतावासले कन्सुलर सेवा विभागमा पठाएको पत्रमा उल्लेख छ ।

‘प्रस्तुत विषयमा तपसिल नेपाली नागरिकको रूसी सेनाम कार्यररत रहेको अवस्थामा मृत्यु भएको जानकारी सहित रूसी सेनाको अधिकारीबाट टेलिग्राममार्फत् मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको छ,’ दूतावासले कन्सुलरलाई पठाएको पत्रमा उल्लेख छ,‘मृतकहरूको शव व्यवस्थापन लगायत कार्यमा परिवारसँग समन्वय गर्नुपर्ने छ । शवको यथासिघ्र व्यवस्थापनका लागि निजहरूको परिवार र राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिनसमेन निर्देशनअनुसार अनुरोध छ।’

उक्त पत्रमा उनीहरूको जारी रूस युक्रेन युद्धमै मृत्यु भएको हो या अरू कुनै कारणले भन्ने चाँहि खुलाइएको छैन ।

यसअघि गत असार २९ गते गोरखाका सन्दिप थपलिया युक्रेनमा मारिएका थिए । उनी पनि रूसी सेनामा भर्ना भएका थिए ।