
काठमाडाैं । सर्वोच्च अदालतले अभिनेता पल शाहविरुद्ध नाबालिग बलात्कारको मुद्दा ब्युँत्याएको छ । बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो ।
सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुद्दा दोहोर्याएर हेर्न अनुमति दिएसँगै शाहविरुद्ध नाबालिग बलात्कारको मुद्दा ब्युँतिएको हो । सर्वोच्चका न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले यही मंसिर २२ गते शाहविरुद्धको मुद्दा दोहोर्याएर हेर्न अनुमति दिएको हो ।
शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरूको समूचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर छ ।
पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्तिलगायतका प्रमाणको समूचित मूल्याङ्कन नभएको सर्वोच्चले ठहर गरेकाे हाे ।
अभिनेता शाहले बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले तनहुँ र नवलपुरमा छुट्टाछुट्टै जाहेरी दिएकी थिइन् । पछि उनले अदालतमा बयान फेरेकी थिइन् ।
याे मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका शाहलाई उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो ।