
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको ‘बालुवाको मूला जस्तै’ भएकाे र अब चुनावमा उखेलेर मिल्काउने दाबी गरेका छन् ।
नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले अबको चुनावमा एमालेले स्वीप आउट गर्ने दाबी गरेका हुन् ।
चुनावमा जाँदा आफू स्वाहा हुने डर भएकाहरुले जनतामा जाने कुरालाई प्रचण्ड–माधव समूहले प्रतिगमन भनेको आराेप पनि ओलीले लगाए ।
ओलीले भने, ‘यिनीहरु चुनावबाट भाग्न खोज्दैछन्,भागेर कहाँ जान्छौ रु चुनाव त गराउनैपर्छ । त्यहीबेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौँ ।’
अध्यक्ष ओलीले आफ्नो सरकार हट्नुमा नेकपा माओवादी केन्द्र जस्तो कमजोर टेको हुनु प्रमुख कारण भएको बताए । उनले भने, ‘सरकार बनाउन हाम्रो टेकोले नपुगेर अर्को टेको पनि लगाएको हो, के गर्नु त्यो पनि कमजोर परेछ ।’
यस्तै, उनले निजामती कर्मचारीले सरकारको काम गर्नु पर्ने बताए । उनले कर्मचारीले निस्वार्थ भएर सरकारको काम गरे पुग्ने बताए ।