राप्ती बस दुर्घटना : यस्तो थियो बस दुर्घटना हुनुको कारण

दाङ । दाङको राप्ती नदीको पुलबाट गएराति खसेको बसको दुर्घटना हुनुको कारण खुलेको छ । चालक लालबहादुर नेपालीका अनुसार टायर नमोडिएपछि दुर्घटना भएको हो ।

चालक नेपालीले सापट बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएका हुन् ।

दुर्घटनामा उनी सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते छन् ।

मृत्यु भएका आठ जनाको मात्रै अहिलेसम्म सनाखत भएको छ । भने घाइते भएका सम्पुर्णको परिचय खुलेको छ ।

मृत्यु हुनेमा बाँकेकी ६० वर्षीया कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे, भारतको उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत रहेका छन् ।

यस्तै बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय जोगेन्द्र रामको पनि दुर्घटनामा मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएका अन्य चार जनाको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताए । घाइतेमध्ये केहीको बुटवल र नेपालगञ्ज तथा केहीको भालुवाङ अस्पतालमा उपचार भइरहेको छ ।