अब बस्ने संसद बैठकमा प्रधानन्यायधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभामा चैत्र दुई गते प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने भएको छ ।

आइतबार बसेको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले आगामी चैत्र दुई गते बस्ने बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी गराएका हुन् ।

त्यसअघि आइतबारको बैठकमा एमालेको अवरोधका बीच माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश गरेका थिए । उनले प्रधानन्यायधीश जवराले स्वतन्त्र न्यायपालिकाको सिद्धान्त विपरीत काम गर्न खोजेकोले महाअभियोग प्रस्ताव ल्याउनुपरेको बताए । प्रधानन्यायधीश जवराकै कारण न्यायालयमा भ्रष्ट्राचार, विकृति र विसंगति देखा परेको उनले बताए । उनले प्रधानन्यायायधीश जबराले संविधानले दिएको क्षेत्राधिकारलाई पूरा गर्न नसकेको आरोप पनि लगाए । न्याय क्षेत्रलाई क्रियाशील र चलायमान गराउने अन्तिम विकल्पको रुपमा महाअभियोग ल्याइएको दावी पनि गरे ।

गत फागुन १ गते ३ जना प्रस्ताव र ९५ जना समर्थिकसहित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो भने फागुन २२ गते बसेको प्रतिनिधिसभाको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१