• २०८३ असार ३२
  • 2026 July 16, Thursday

महानगरभित्र कटन क्यान्डी बिक्री वितरणमा रोक, बिक्री वितरण गरे पाँच हजारदेखि दुई लाखसम्म जरिवाना

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग,उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ ।

महानगरपालिका क्षेत्रभित्र बिक्रि गरिँदै आएको कटन क्यान्डीको खाद्य गुणस्तर परिक्षण गर्दा त्यसमा अखाद्य तत्व मिसाइएको पाइएकोले त्यसले आम उपभोक्ताको स्वास्थ्यमा असर गरेको महानगरले जनाएको छ ।

शनिबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा नमूना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा क्यान्डीमा अखाद्य रङ ’रोडामाइन बी’ पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो । महानगरले आफ्नो क्षेत्रभित्र क्यान्डीको प्रयोग तथा बिक्रीवितरण नगर्न अनुरोध गर्दै चेतावनीयुक्त जरिवाना समेत तोकेको छ ।

“अखाद्य वस्तुले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकोले महानगरपालिका क्षेत्रभित्र यस्ता अखाद्य रङयुक्त वस्तु प्रयोग तथा बिक्रीवितरण नगर्न÷नगराउन अनुरोध गर्दछौं,” महानगरको सूचनामा उल्लेख छ, “यदि काठमाडौं महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्रीवितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने समेत जानकारी गराइन्छ,” महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।