• २०८३ असार ३२
  • 2026 July 16, Thursday

आमाको मृत्यु भएपछि ४ महिने शिशुसहित बालबच्चाको बिचल्ली

मुगु । सोरु गाँउपालिका–६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ । गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान लियो । आमा बितेपछि कलिला छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको छ ।

उनका एक छोरा र दुई छोरी थिए । उनकी कान्छी छोरी रजना भर्खरै ४ महिनाको मात्रै हुँदैछिन् । वर्षका आधा दिन भारत गएर मजदुरी गरेर ल्याएर जिउने ढोली परिवार अहिले महाविपत्तिमा फसेको छ ।

श्रीमतीकोे मृत्युपछि शोकमा डुबेका उनका श्रीमान् अझैसम्म अर्ध बेहोसीमै छन् । उनी केही बोलेनन् । ‘अरूलाई त बनिबुतो गरेर हुर्काउँला, त्यो अन्न खानै नथालेको ४ महिनाको बच्चालाई के खुवाएर बचाउने भनेर सोच्न सकेको छैन,’ कुसुमका जेठा ससुरा सलबहादुर ढोलीले भने ।

सलबहादुर आफैँ पनि बिरामी छन् । उनका भाइबुहारी पनि ज्वरोले थलिएका छन् । रोग र शोक एकैपटक झेलिरहेको परिवारलाई पोषिलो आहार र उपचारको खाँचो छ । तर बिहान बेलुकाको दुई छाक जुटाउन समेत कठिन हुने स्थितिमा गुज्रिरहेको छ ।

‘घरमा दुई छाक टार्नै धौ–धौ छ । मजदुरी गरेर खान्थ्यौँ, तीन नातीनातिना हुर्काउनका लागि हामी बाबुछोरा भारतमा मजदुरी गर्न गएका थियौ । आउँदा बुहारी वितिसकेकी रहिछन् । यी नाति नातिना अब के गरेर पालौ,’ बुहारीको निधनपछि भारतबाट फर्किएका ससुरा गोबी ढोलीले भावुक हुँदै भने । उनले थपे, ‘अहिले रोग र भोकको विपत्ति एकैपटक आयो, ठुलाले जे खाए पनि हुनेरहेछ, यी कलिला बालबच्चालाई के खुवाएर बचाऔँ ?’

घर खर्च जोहो गर्न घरमा श्रीमती र सुत्केरी बुहारीलाई छोडेर गत मंसिरमा गोबी ढोली छोरालाई लिएर मजदुरी गर्न भारत पुगेका थिए ।

तर दुई महिना नबित्दै घरमा बिपत्ति आइलाग्यो । सबै जना बिरामी परेको खबर पाएपछि उनीहरू घर फर्किए, तर घर आइपुग्दा बुहारीको श्वास रोकिसकेको थियो ।

गाउँभरि नै भाइरल ज्वरोको प्रकोप छ । ‘घरैभरि बिरामी छन् । मान्छेको बिचल्ली छ,’ मृतक कुसुममा जेठा ससुरा सलबहादुरले भने, ‘वल्लोघर पल्लोघरका नानीहरुले दुध खुवाएर त्यो बच्चालाई बचाएका छन् । कसलाई के भनौँ ? कसरी मागौँ ?’

ढोली परिवारलाई परेको विपत्तिमा वडा, गाउँपालिका वा कुनै पनि सरकारी निकायको नजर परेको छैन ।

झण्डै एक महिनासम्म निरन्तर ज्वरो आउने, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, नाकमुख सुख्खा हुने जस्ता लक्षण देखिएर बिरामी परेकी कुसुमको गत साता जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । भाइरल ज्वरो फैलिँदा गाउँमा कुसुमसहित अन्य दुई जनाको समेत मृत्यु भएको छ भने अहिले पनि सयौँ जना बिरामी छन् ।