• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

चौथो मन्जुश्री ट्रेल रेस सुरू, ४० विदेशीसहित ३ सय २४ धावक सहभागी

काठमाडौं । खेल पर्यटन प्रवर्द्धन गर्दै चौथो संस्करणको मन्जुश्री ट्रेल रेस सुरू भएको छ । शुक्रबार बिहान ८ बजे इचंगुनारायणस्थित सिंगल ट्रीबाट सय माइलको दौड सुरू गरिएको हो ।

शुक्रबार र शनिबार हुने विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावकहरू सहभागी छन् । जसमा ४० जना विदेशी धावक छन् । यस्तै २ सय ८९ जना महिला र ३५ जना पुरुष धावक छन् । विभिन्न चरण मध्ये सय माइलको दौडमा चार महिलासहित १८ धावक सहभागी छन् ।

यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए ।

सय माइलको रेसमा चर्चित धावकहरू प्रिया राई, मसफुमी यमाटो, मनकुमार रोका मगर, अर्जुन कुलुङ राई, निक पिलापिल, सोफी सरन्या महाकनोक लगायत अतिथि सहभागी छन् । अन्तर्राष्ट्रिय ट्रेल रेसको प्रतिष्ठित एमसी सोफीले पनि यस रेसमा सहभागिता जनाएकी हुन् ।

धावकहरूले काठमाडौं उपत्यका वरिपरीका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फूल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै एकसय माइल दूरी पार गर्नेछन् ।

‘यो रेस सगरमाथाको भन्दा बढी उचाइ गेन गरिने रेस हो । एसिया ट्रेल मास्टर च्याम्पियन रशिला तामाङले भनिन् ‘सय माइलको मञ्जुश्री ट्रेल रेस पार गर्दा विभिन्न चुचुरा चड्ने र झर्ने गरेर १२ हजार ६९५ मिटरको उचाई गेन गरिन्छ ।’

यस्तै शुक्रबार राति ८ बजे एक सय किलोमिटरको दौड झुलेबाट, भोलि शनिबार बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस शनिबार बिहान ८ बजे फर्पिङको डोल्लुबाट सुरू हुँदैछ ।

ट्रेलमाण्डुको ५ स्टेज रेसको फाइनल खेल हो । यसमा १०० जना धावक सहभागी हुँदैछन् । त्यसैगरी शनिबार कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरू भइ सिंगल ट्रीमै सकिने अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार यो संस्करणलाई एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा समेत मान्यता रहेको छ।

एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्ट्स प्रमोशन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो । एसिया ट्रेल मास्टर्स पारदर्शी र सजिलो पोइन्ट प्रणालीमा आधारित वार्षिक च्याम्पियनसिप कार्यक्रम पनि हो । यसका साथै ग्रान्डमास्टर क्वेस्ट मार्फत सबै बर्गका धावकहरूलाई समान अवसर दिइन्छ ।

गत वर्षको सम्पन्न तेस्रो संस्करणको मञ्जुश्री ट्रेल रेसमा ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना धावकले भाग लिएका थिए ।
आयोजकका अनुसार यस रेस अन्तर्गत प्रत्येक सिजन ‘एटिएम फाइनल’सँगै समाप्त हुन्छ जसमा अन्तिम विजेतालाई सम्मानित गरिन्छ । स्थापनाको आठौँ वर्षमा १२ देखि १५ वटासम्म एसियाली मुलुकहरूमा ३० खेलको आयोजना हुनेछ । यसमध्येका थाइल्याण्ड, मलेसिया, जापान, भियतनाम र हङकङमा हुने रेस मुख्य रेस हुन् ।

पौराणिक कथन अनुसार मञ्जुश्री नामक भिक्षुले काठमाडौंमा अवस्थित पोखरीमा जम्मा भएको पानीलाई निकास दिन, विभिन्न डाँडा घुमेर हेरेको थिए । यसै विश्वासलाई आधार मानेर यस रेसको परिकल्पना तथा नामाङ्कन गरिएको हो । सेतो र पहेलो रङले चिह्न लगाइएको यस ट्रेलमा अहिले हाइकिङ तथा साइक्लिङ समेत हुने गरेको छ ।

धावकहरू भने जंगल, खोला, खेत र केही गाउँहरू हुँदै दौडन्छन् । लगभग ७० प्रतिशत दौड वन(जंगल र गोरेटो बाटोमा हुने ट्रेलमाण्डुका सह सँस्थापक आशिष मिश्रले बताए ।

अध्यक्ष थापाका अनुसार रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत आयोजना हुँदै छ । जसमा भिन्न रुपले सबल बाल बालिकाहरूको रेस पनि आयोजना हुनेछ । नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सो रेसको आयोजना हुन लागेको हो । यसमा २० खेलाडी सहभागी हुँदैछन् ।

एकसय माइल यस लामो दौड नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने दौड पनि हो । यसमा धावकहरूलाई सहज बनाउनको लागि जम्मा १९ वटा चेक प्वाईन्ट उपलब्ध गराइएको हुन्छ जहाँ उनीहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभुत औषधिको पनि व्यवस्था गरिएको हुन्छ ।