• २०८३ असार १६
  • 2026 June 30, Tuesday

इजरायलमा रहेका नेपालीलाई सरकारले गरायो सचेत

हुलाक सञ्चार

  • २०८१ वैशाख २, आइतबार ११:३९

काठमाडौं । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा हमला गरेपछि विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई सचेत गराएका छन् । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घर वा आश्रयस्थलबाट बाहिर ननिस्कन भनेको छ ।‘‘हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्।

आगामी सोमबार राती ११ बजे सम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा सम्मेलन नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकालागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं,’ दूतावासको सूचनामा लेखिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, इजरायलमा हाल ४५ सय नेपाली श्रमिक केयरगिभरका रूपमा कार्यरत छन् । अनौपचारिक तथ्यांक अनुसार भने योभन्दा तेब्बर बढी संख्यामा नेपालीहरू इजरायलमा रहेको अनुमान गरिन्छ । इरानले गए राति इजरायलमा दुईसय भन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

 

  • २०८१ वैशाख २, आइतबार ११:३९