काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।
तेस्रो खेलमा हङकङमाथि नेपालले ८ विकेटको सहज जित निकालेकाे हाे ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ र धारिलो फिल्डिङ गर्दै हङकङलाई ११४ रनमा अलआउट गर्यो ।
हङकङका ओपनर अंशुमान रथले सर्वाधिक ३४ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।
११५ रनको सहज लक्ष्य लिएर मैदानमा उत्रेको नेपाल सुरुबाटै आक्रमक थियाे । आसिफ र कुशलबीच पहिलो विकेटका लागि ५.२ ओभरमा ७० रनको साझेदारी भएको थियो ।
कुशल १९ बलमा २ छक्का र ३ चौकासहित ३२ रन बनाएर आउट भए । आसिफले १८ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ४० रन जोडे ।
त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले खेल पूरा गरे । रोहितले २० बलमा तीन चौकासहित २५ रन र सन्दीपले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए ।
वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो ।
यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ ।