• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

यी हुन अफगानिस्तानको टी–बिस विश्वकप खेल्ने खेलाडी

काठमाडौं । अफगानिस्तानले अमेरिका र वेस्ट इन्डिजमा हुने टी–बिस विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अफगानिस्तानले १९ वर्षीय विकेटकिपर ब्याट्सम्यान मोहम्मद इशाकलाई टोलीमा समावेश गरेको छ ।

इशाकले यसै वर्ष टी–बिस मा डेब्यु गरेका थिए र टी–बिस विश्वकपको टिममा पनि स्थान बनाउन सफल भएका थिए । इशाक बाहेक करिम जनात र नूर अहमदलाई पनि टोलीमा स्थान दिइएको छ ।

अफगानिस्तानले २० वर्षीय बायाँ हाते स्पिन अलराउन्डर नाङ्ग्याल खरोतीलाई पनि आफ्नो विश्वकप टोलीमा समावेश गरेको छ । उनले पनि इशाकजस्तै यसै वर्ष डेब्यु गरेका थिए । खरोतीले राशिद खान, मोहम्मद नाबी, मुजिब उर रहमान र नूर अहमदसँगै टोलीको स्पिन विभागलाई बलियो बनाउनेछन् ।

नवीन उल हक, फरीद अहमद र फजलहक फारुकीले फास्ट बलिङ आक्रमणको जिम्मा लिनेछन् । १५ सदस्यीय खेलाडीबाहेक सादिक अटल, हजरतुल्लाह जाजई र सलिम सैफी रिजर्भ खेलाडीमा परेका छन् ।

अफगानिस्तानले जुन ३ मा युगान्डासँगको खेलबाट टी–बिस विश्वकपमा आफ्नो अभियान सुरु गर्नेछ । दुई टोलीबीचको यो खेल गुयानामा हुनेछ । त्यसपछि टोलीले जुन ७ मा न्युजिल्यान्डसँग खेल्नेछ । अफगानिस्तानले १३ जुनमा पपुवा न्युगिनी र १७ जुनमा वेस्ट इन्डिजसँग खेल्नेछ ।
अफगान टिम

रहमानउल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबदिन नाइब, करीम जनात, राशिद खान (कप्तान), नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकी। फरीद अहमद मलिक।