
काठमाडौं । ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले गरेको आग्रह चीनले अस्वीकार गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेका कारण ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले चीनलाई आग्रह गरेको थियो ।
श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेले चीनका विदेशमन्त्री वाङ् यीलाई यसबारे आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यद्यपि, चिनियाँ विदेश मन्त्रालयलका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनका क्रममा चीनले श्रीलंकाको सामाजिक–आर्थिक विकासमा सहयोग गरेको र यसलाई निरन्तरता दिने बताएकाे समाचारमा उल्लेख छ ।
श्रीलंकाको अर्थतन्त्र चीनको बेल्ट एण्ड रोड परियोजनाका कारण संकटमा परेको र यसबाट उच्च मुद्रास्फीति, खाद्यान्नमा मूल्यवृद्धि जस्ता समस्या उत्पन्न भएका विषयमा चीनले गोहीको आँशु मात्र झारेको जनाइएकाे छ ।
श्रीलंकाले चीनको ८ अर्ब अमेरिकी डलर ऋण चुक्ता गर्न बाँकी छ । यद्यपि विदेशी मुद्राको अभावका कारण श्रीलंकाले उक्त ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न आग्रह गरेको थियो ।
श्रीलंका सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।