• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

साउदी लिगको उपाधि अल हिलालले हाजमलाई ४/१ गोलअन्तरले पराजित गर्दै,

काठमाडौं । साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४/१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो ।

अल हिलाललको जितमा अलेक्जेन्डर मिट्रोभिकले २ गोल गर्दा सेर्गेज मिलिन्कोभिकले १ गोल थपेका थिए । हिलालले १ गोल भने उपहार पाएको थियो । हाजमा अहमद अल जुवेदले उपहार गोल दिएका हुन् । यसैगरी हाजमका फैज सेलमानीले एक गोल फर्काए ।
अल हिलालका लागि मिट्रोभिकले १५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा अल हाजमका फैल सेलमानीले गोल गर्दै बराबरी गरेका थिए ।

पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा मिट्रोभिकले व्यक्तिगत दोस्रो गोल गर्दा हिलाल ३/१ ले अघि बढ्यो । पहिलो हाफकै अतिरिक्त छैटौं मिनेटमा सेर्गेज मिलिन्कोभिकले गोल गरेपछि पहिलो हाफमै हिलाल ४/१ ले अघि बढेको थियो । दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल नभएपछि अल हिलाल ४/१ ले जित निकाल्दै तालिकामा ३ अंक थप्न सफल भयो । जितपछि अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलबाट ८९ अंक बनाएको छ ।

दोस्रो स्थानमा रहेको अल नासरको ३१ खेलबाट ७७ अंक रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलाल १२ अंकले अघि रहेपछि ३ खेल अगावै उपाधि पक्का गरेको हो । अल हिलालको १९औं लिग उपाधि हो । अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो । अल हिलालपछि अल इतिहाद र अल नासरले समान ९/९ पटक लिगको उपाधि जितेका छन् ।