प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयो : प्रवक्ता डा महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन् ।

शनिबार शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, ‘यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रु १९/२० अर्ब रकमको व्यापक दुरुपयोग भएको छ, यसबाट कुनै रोजगारी सिर्जना भएको छैन ।

ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दाे ढङ्गबाट सो आयोजनाको रकम बाँडेर सकिएको उनको आरोप थियो ।

प्रवक्ता महतले सो आयोजनाको रकम बाँड्ने क्रममा तिमी कुन पार्टीको मान्छे हो भनेर सोधेरै आफ्नो पार्टीका मान्छेलाई मात्र सो रकम दिने गरिएको उनले बताए । कुनै पारदर्शी योजनाबिना नै सो आयोजना ल्याइएको र सडकको फोहर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकम बाँडिएको उनले बताए ।

उनले ओली सरकारका पालमा कयौँ अनियमिता भएका र जसका कारण देश आर्थिकरूपमा तहसनहस हुन पुगेको बताए ।

भ्रष्टाचार, अनियमितता तथा कम्युनिष्ट सरकारका अनेक ज्यादतिका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार निर्माण भएको उनले बताए ।

उनले आगामी सबै निर्वाचनहरूमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने भन्दै यसका लागि कांग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्नु पनि आग्रह गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१