
स्याङ्जा । गत फागुन ३ गतेदेखि १३ गतेसम्म आयोजित चापाकोट महोत्सवको आय-व्यय अझैसम्म सार्वजनिक गरिएको छैन ।
जिल्लाको चापाकोट उद्योग वाणिज्य संघले जिल्लामा रहेको कृषि एवम् पर्यटकीय क्षेत्रको प्रचारप्रसार र स्थानीय उत्पादनको बजारीकरणका लागि भन्दै गरेको महोत्सवको हिसाबकिताब अझैसम्म सार्वजनिक नगरिएको हो ।
चापाकोटका स्थानीयहरूले महोत्सव भएको ३ महिना बितिसक्दा समेत आय-व्यय सार्वजनिक हुन नसक्नुका पछाडि रकम दुरूपयोग भएको हुनसक्ने आशंका गर्न थालेका छन् । चापाकोट उद्योग वाणिज्य संघका महासचिव शिव श्रेष्ठले उठ्नुपर्ने रकम नउठेका कारण सार्वजनिक गर्न नसकिएको जानकारी दिए ।
उनले केही नगरपालिकाबाट आउनुपर्ने रकम पनि नआएको र अन्य स्थानहरूबाट पनि रकम उठ्न नसकेकाले सार्वजनिक गर्न समस्या भएको बताए । रकम दुरुपयोग हुनेमा शंका नगर्न र आर्थिक मन्दी भएका कारण पनि रकम उठ्न समस्या भएकाले आफूहरू जतिसक्दो छिटो आय-व्यय विवरण सार्वजनिक गर्ने पक्षमा रहेको श्रेष्ठको दाबी छ ।
विगतमा लगाइएका मेला महोत्सवको रकम हिनामिना गरेको आरोप खेप्दै आएको चापाकोट उद्योग वाणिज्य संघले पछिल्लो महोत्सवमा पनि ठूलै आर्थिक अनियमितता गरेपछि आयव्यय सार्वजनिक गर्न उदासिनता देखाएको छ ।